त्यस्तो राजा के राजा ?

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-५-२४ गते   ६३० पटक हेरिएको

नीतिकथा 

कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो । चोट ठूलै थियो, रगत धेरै नै बग्यो । केही सिपाही मलमपट्टी गर्नतिर लागे केही ढुङ्गा हान्ने मानिसलाई खोज्नतिर । खोज्दै जाँदा केही पर एउटी प्रौढ महिला फेला परिन्, जो अहिले पनि अर्को ढुङ्गा हान्ने तरखर गर्दै थिइन् । ढुङ्गा हान्ने व्यक्ति यिनै हुन् भन्ने पक्का भएपछि सिपाहीले उनलाई पक्रेर राजा समक्ष पेश गरे । उनको हाउफाउ र सिपाहीको भनाइबाट ढुङ्गा हान्ने मानिस यिनै हुन् भन्ने प्रष्ट भएपछि राजाले सोधे–

‘आबै ! साँच्चै ढुङ्गा तपाईँ नै हान्नुभएको हो ?’

आबैले थरथरकाम्दै भनिन्–

‘हो महाराज ! मैले नै हानेको हुँ ।’

‘त्यसको कारण ?’

‘संयोग नै त्यस्तै प¥यो महाराज !’

‘कस्तो संयोग चाँडो भन्नुस् अन्यथा ....।’

राजाको कडा स्वर सुनेर आबैले माफी माग्दै भनिन्–

‘चोट लागेकोमा माफी चाहन्छु सरकार ! तर मेरो उद्देश्य त्यस्तो थिएन ।’

‘के थियो त ?’

‘के भनौँ खोइ, ढुङ्गा हजुरलाई हानेको होइन ।’

‘कसलाई हानेको त ?’

‘बेलको रुखलाई ।’

‘किन नि ?’

‘किनकि सानो छोरो तीन दिनदेखि भोको छ ।’

‘तपाईँको छोरो भोको हुनुसित ढुङ्गा हान्नुको के सम्बन्ध ? बेललाई ढुङ्गा हान्दैमा भोक टर्ने हो र ?’

‘छ महाराज ! ठूलै सम्बन्ध छ ।’

‘खुलस्त पार्न सक्नुहुन्छ ।’

त्यसपछि आबैले बेलिबिस्तार लगाउँदै भनिन्–

‘महाराज ! मेरा निम्ति संसारमा आफ्नो भन्नु यही एउटा बेलको रुख छ । जब छोरो भोकले छट्पटाउन थाल्छ तब यहाँ आएर उसलाई ढुङ्गा हान्ने गर्छु । त्यसपछि उसले मेरो दुःख देख्न सक्दैन र सट्टामा पाकेको फल दिएर पठाउँछ ।’

‘त्यसो भए पाकेको बेल झार्न ढुङ्गा हान्नुभएको रहेछ भन्ने बुझौँ ?’

‘हो महाराज ! ठीक भन्नुभयो ।’

‘तर तिमीले हानेको ढुङ्गाले मलाई त चोट लाग्यो नि होइन ?’

‘हो महाराज ! नहुनुपर्ने भयो, दुःखित छु ।’

त्यसपछि उनले सिपाहीलाई बोलाएर तुरुन्तै आबैलाई एक हजार स्वर्णमुद्रा र उचित खाद्यान्न दिएर विदा गर्नु भन्ने आदेश दिए ।

राजाको आदेश सुनेर सिपाहीले आश्चर्य मान्दै भने–

‘महाराज ...!’

‘किन, के भयो ?’

‘उल्टो परेन र ?’

‘कसरी ?’

‘यिनले त सरकारलाई घाउ लगाएकी छन् ।’

‘हो लगाएकी छन् अनि ....?’

‘कारबाही गर्नुपर्नेमा उल्टै पुरस्कार ?’

‘कुरा त्यति मात्र होइन ।’ राजाले सम्झाउँदै भने–

‘जरुरै यी आबैले हानेकी ढुङ्गाले मलाई चोट लागेको पनि हो र यसैका कारण मलाई पीडा भएको पनि हो तर एउटा सामान्य वृक्षले त आफूलाई ढुङ्गा हान्नेलाई फल दिएर पठाउँछ भने म त देशका राजा हुँ । राजा भएर एउटा वृक्षले जति पनि धर्म निर्वाह गर्न सक्दैन भने त्यस्तो राजा के राजा ? राजा हुनुको के अर्थ ।’

त्यसपछि सिपाहीले राजाको आदेश अनुसार आबैलाई एक हजार स्वर्णमुद्रा र चाहिँदो खाद्यान्न दिएर पठाए । आबै राजाको जयगान गर्दै घरतिर लागिन् राजाले आफ्नो बाटो समाते ।

यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर प्रकृतिले जीवन दिएको परोपकार र परहितकै लागि हो भन्ने कुरा भने सत्य हो । न वृक्षहरूले फल आफैँ खान्छन् न नदीहरूले पानी आफैँ पिउँछन् । न वायुको गति उसैका लागि हो न सूर्यको किरण सूर्यकै लागि हो । अर्थात् यी सबै अरूकै लागि हुन्, अरूकै लागि भएका हुन्, बनेका हुन् । यसबाट के बुझिन्छ भने प्रकृतिले मानव जीवन दिएको पनि परहित र परोकारकै लागि हो । त्यसैले जसले अरूले के गर्यो र के भन्यो भन्नेतिर नभई आफूले के गर्नुपर्छ र के भन्नुपर्छ भन्नेतिर ध्यान दिन्छ उसैको जीवन सार्थक हुन्छ । 

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech