ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाद्वारा त्रि.मा.वि. मा वित्तीय साक्षर अभियान

ममता शर्मा    प्रकाशित: २०७९-१२-६ गते   ३४०३ पटक हेरिएको

ममता शर्मा

महोत्तरी , चैत्र ६ गते

महोत्तरीको गौशालामा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले त्रि.मा.वि. मा वित्तीय साक्षर अभियान कार्यक्रम गरेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गौशालाले आज गौशाला नगरपालिका वडा न.५ त्रिभुवन विद्यालयका वाणिज्य संकाय तर्फका ११ र १२ कक्षाका विद्यार्थीहरुलाई सहभागी गराई कार्यक्रम गरेको हो ।

कार्यक्रममा संस्थाको गौशाला शाखा प्रमुख रामाशंकर सिंह ,अनुगमन शाखाको प्रतिनिधि महेश प्रसाद निरौला , अनुगमन तथा सुपरिवेक्षण विभागका कृष्ण ढुंगाना , संस्थाको अनुगमन विभाग प्रमुख यतिराज पौडेल लगायत कक्षा ११ र १२ को विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

संस्थाले विश्ववित्तीय सप्ताह कार्यक्रम अन्तर्गत आज पहिलो दिन विद्यालयमा सुरुवात गरेको हो । सोमबार देखि सुरु भएको यो कार्यक्रम चैत्र १२ गते सम्म विभिन्न शाखा स्थानहरुमा संचालन हुने जनाएको छ ।

विद्यार्थीहरुमा वित्तीय संस्थाको महत्वका बारेमा जागरण लयाउने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको शाखा प्रमुख रामाशंकर सिंहले जानकारी दिए । वित्तीय ज्ञान , सिप , मनोवृत्ति र व्यवहारमा परिवर्तन ल्याई वित्तीय सक्षमता अभिबृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र आर्थिक समृद्धिमा योगदान गर्नु यस कार्यक्रमको मुख्य  उद्देश्य रहेको उनले बताए ।

कार्यक्रममा विद्यार्थीहरुलाई बचत , बिमा , विप्रेषण , शेयरलगानी , कर्जा , लघुउधम , पारिवारिक बजेट , नोटको जतन आदिको बारेमा जानकारी प्रदान गरिएको छ । कृष्ण ढुंगानाले प्रशिक्षकको रुपमा विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकमा दर्ता भएको संस्था मात्र बैंक रहेको जानकारी गराउदै बैंक वाणिज्य , विकास बैंक , फाइनान्स कम्पनि र लघुवित्त वित्तीय संस्थाहरु गरि (क, ख , ग र घ वर्ग अन्तर्गत ) ४ किसिमको हुने जानकारी दिए ।

साथै उनले जीवनयापनका क्रममा विभिन्न आवश्यकताहरु पूर्ति गर्न पैशाको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने , ‘पैशा हाम्रो लागि अपरिहार्य छ । यसको बचत गर्नु ,सहि सदुपयोग गर्नु जरुरि छ । अनावश्यक खर्च गर्नु हुदैन ।’

त्यस्तै उनले ऋण सम्बन्धि जानकारी गराउदै उत्पादनशील कार्यको लागि मात्र ऋण लिनुपर्ने सुझाए । साथै परिवारमा बजेट व्यवस्थापन गरि सो अनुरुप खर्च र बचत गर्नुपर्ने उनले बताए ।   

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech