रेशम चौधरीलाई जेल पठाउने  फैसलालाई सदर गर्‍यो सर्वोच्चले

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०८०-२-२ गते   १३६० पटक हेरिएको

जेठ २ गते 

रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको छ। 
न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो। 
इजलासले भनेको छ- अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्न सक्दैन।  इजलासले प्रतिवादीहरू सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपित कसुरबाट सफाइ दिएको छ। सीताराम र गंगारामलाई  उच्च अदालत दीपायलले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो। 
अर्का प्रतिवादी लक्ष्मण थारूलाई भने उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो। लक्ष्मण सजाय घटाएर सर्वोच्चले तीन वर्ष बनाइदिएको छ।  
संविधान जारी हुनुभन्दा अघि २०७२ भदौ ७ मा टीकापुर हिंसा भड्किएको थियो। एक नाबालकसहित ८ जना प्रहरीको ज्यान जाने गरी भएको उक्त हिंसात्मक झडपको नेतृत्व गरेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएका थिए। 
अदालतको फैसलापछि पूर्वसांसद समेत रहेका चौधरी अहिले डिल्लीबजार कारागारमा छन्। 
कारागारबाट उनले खोलेको नयाँ पार्टीले गत संसदीय चुनावमा ४ सिट जितेको छ। उनकी श्रीमती रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहाकारी तथा गरिबी निवारण मन्त्री छन्। 

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech